March 07, 2014

युवाहरुलाई नैतिक शिक्षा सिकाउ“दै प्रहरी

युवाहरुलाई नैतिक शिक्षा सिकाउ“दै प्रहरी

कमल काफ्ले

बुटवल, फागुन २२ । नया“मिल बस्ने नवीन गौतम हतार हतार गर्दै प्रहरीको आ“खा छलेर हिंड्दै थिए । उनी हतार हतार एक पसलभित्र छिरेर भने ‘बल्ल बंचियो प्रहरीले भेटाएको भए कपाल नै काटिदिन्थ्यो यार‘ उनले भने । उनको कपाल लामो थियो, त्यो लामो कपाल प्रहरीले समातेर  काटीदिने डरमा उनी प्रहरीको आ“खा छलेर हिंड्दै थिए ।
विगत केही दिन देखि रुपन्देहमा प्रहरीले अपराध निणन्त्रण गर्नको लागि भन्दै युवाहरुलाई नैतिक शिक्षा सिकाउने अभियान सुरु गरेको छ । प्रहरीले उक्त अभियान अन्तर्गत मुन्द्रा लगाउने, लामो कपाल पाल्ने, अस्वभाविक रुपमा हिडडुल गर्ने, सार्वजनिक स्थानहरुमा चुरोट तान्दै हिड्नेहरुलाई लक्ष्ँित गरी उक्त अभियान सुरु गरेको हो ।
प्रहरीले केही समयदेखि गरेको विशेष अध्ययनका आधारमा यस्तै प्रकृति र प्रवृत्तिका युवाहरुबाटै आपराधिक गतिविधि भएको ठहर गर्दै पहिलो चरणमा नैतिक शिक्षाको अभियान थालेको बताएको छ । यो अभियान अन्तर्गत पहिलोपटक सामान्य रुपमा सोधपुछ गर्ने, अनुशासनमा रहन आग्रह गर्ने, सुध्रिनका लागि समय दिने र त्यसो गर्दा पनि नमानेमा निगरानी राख्दै कानुनी कारबाहीको प्रकृया चलाउने प्रहरीको तयारी छ । यसै आधारमा युवाहरुलाई प्रहरीले निगरानीमा रखेर सोधपुछ सुरु गरेको छ ।
प्रहरीको यो अभियान अहिले जिल्लाका केही स्थानहरुमा चलाएको छ । भने जिल्लाव्यापी बनाउने तयारी गरेको छ । प्रहरीले त्यस्ता युवाहरुलाई देख्ने बित्तिकै नियन्त्रणमा लिएर सोधपुछ गर्ने र कपाल समेत काटिदिने गरेको छ ।
कपाल पाल्नु एक सौखकको विषय हो । जोसुकै युवाले यदि कपाल पाल्छ भने उसले आफ्नो सौखले पालेको हुन्छ नकि कुनै अपराधिक क्रियाकलापमा संलग्न हुनको लागि, टाटु बनाउने मानिसले आफ्नो सौखको लागि आफ्नो रहरले बनाएको हुन्छ, तर ति सबै मानिसहरु अपराधिक क्रियाकलापमै लागेका छन् भन्न चाहीं मिल्दैन । पुष्पलाल पार्कमा भेटिएका एक युवाले प्रतिक्रिया दिए ।
हुन त पछिल्लो समयमा धेरैजसो कपाल पालेका, धुम्रपान गर्ने, मुन्द्रा लगाउनेहरु नै यस्तो क्रियाकलापमा लागेको पाइएको रुपन्देहीका प्रहरी प्रमुख विक्रम सिंह थापाले बताए । उनले लामो अध्ययनपछि यस्तो निश्कर्षमा प्रहरी पुगेको बताए । परिवारलाई पनि आफ्ना सन्तानको निगरानी राख्न आग्रह गरिएको उनले बताए ।
लागुपदार्थको लत परेका र सोका लागि खर्चको जोहो गर्न पनि अपराधमा सरिक भएका धेरै घटना पाइएको प्रहरीको भनाइ छ । एसपी थापाका अनुसार विषेश गरेर कपाल पालेका युवाहरु गुण्डागर्दीमा लाग्ने, लागुपदार्थ ओसारपसार गर्ने, मानिसहरुलाई धम्क्याउने गरेको पाइएको छ । तर सबै कपाल पाल्ने टाटु बनाउने र मुन्द्रा लगाने व्यक्ति अपराधिक क्रियाकलापमा नलागेको र त्यस्ता व्यक्ति तथा युवाहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरी परिवार तथा आफन्तजनहरुको जिम्मा लगाइएको पनि उनले बताए ।
कुनै पनि पेशाअनुसार कपाल पालेको र मुन्द्रा लगाएको भए डराउनु नपर्ने र अन्य युवाहरु पनि प्रहरीको यस अभियानबाट नडराउनको लागि उनले अनुरोध गरेका छन् । ‘हामीले सोधपुछको दौरानमा कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न रहेकालाई मात्रै नियन्त्रण्मा लिएर कार्वाही गर्छौं’ उनले भने –हाम्रो अभियान कसैलाई दुःख दिन हैन, बरु समाज सुधार गर्न र अनुशासित बनाउन हो ।’
यदि आफ्नो हुलिया बदलेर पनि कुनै अपराधिक क्रियाकलापमा लागेको छैन भने उसलाई सम्झाएर परिवारको जिम्मा लगाउने समेत उनले बताए । प्रहरीले बिना उद्देश्य कपाल पाल्नेलाई परिवारको उपस्थितीमा कपाल कटाईएको र सम्झाएर परिवारको जिम्मा लगाइएको बताएको छ ।
देशमा शान्तिसुरक्षाको दृष्टिकोणले यो अभियान थालिएको हो । यो अभियानले अपराधिक क्रियाकलाप नियन्त्रण गर्न पनि धेरै हदसम्म सहयोग मिल्ने पनि उनले बताए । 
अपराधिक क्रियाकलाप नियन्त्रण गर्नको लागि प्रहरीको यस अभियानलाई निकै राम्रो भएको बताउंछिन् बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत पुष्पा शर्मा । प्रहरीको यो अभियान निकै राम्रो छ । यसले यस्ता अपराधिक क्रियाकलाई धेरै नियन्त्रण गर्छ उनले भनिन् ।  त्यस्तै स्थानीयहरुले पनि प्रहरीको यो अभियानलाई निकै राम्रो प्रतिक्रिया दिएका छन् ।
मंगलापुरमा पनि
ईलाका प्रहरी कार्यालय मंगलापुरले समाजमा रहेका बिकृति र बिसंगति नियन्त्रणका लागि समाज सुधार अभियानको थालनी गरेको छ । अभियान अन्तर्गत कार्यालयले लामो कपाल पाल्ने, ट्यापे, मुन्द्रे र सार्बजनिक स्थनमा धुम्रपान तथा मध्यपान गर्नेहरुलाई सडकमै कारबाही सुरु गरेको छ ।
सो क्षेत्रको मणिग्राम, मंगलापुर, सेमरा बजार, कान्छीबजार, भलावरी लगायतका क्षेत्रबाट दुई दर्जन भन्दा बढी त्यस हुलियाका युवाहरुलाई नियन्त्रणमा लिएर कार्बाही गरेको प्रहरीले जनाएको छ । लामो कपाल भएकाहरुको कपाल काटिएको, मुन्द्रा लगाउनेको मुन्द्रा झि
किएको र सार्बजनिक स्थानमा धुम्रपान तथा मध्यपान गर्नेहरुलाई अब धुम्रपान तथा मध्यपान नगर्न चेतावनी दिइएको कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक टोपबहादुर रानाले बताए ।
अभियान अन्तर्गत प्रहरीले मंगलापुर चोकमा सचेतनामूलक कार्यक्रम गरेको छ । कार्यक्रम मार्फत् समाजमा रहेका बिकृती र बिसंगती नियन्त्रणका लागि सबै आ–आफ्नो स्थानबाट लाग्न आग्रह गरिएको थियो ।