माइक्रोसफ्टले सर्वाधिक लोकप्रिय रहेको
विन्डोज एक्सपी बाट आफ्नो सपोर्ट बन्द गर्ने घोषणा गरिसकेको छ । १२ वर्ष
पुरानो यो अपरेटिङ सिष्टमको प्रयोगकर्तालाई अप्रिल ८ तारिखदेखि
माइक्रोसफ्टले कुनै पनि अपडेड दिने छैन ।
सपोर्ट बन्द भएपछि पनि प्रयोगकर्ताले
विन्डोज एक्सपीको प्रयोग गर्न सक्नेछन् तर यसको जोखिम भने बढ्नेछ । यसले
एटिएमसमेत बैंकिङ सेवामा असर पर्न सक्छ भने व्यवसायिक क्षेत्र, सरकारी
कार्यालय लगायत अरु क्षेत्र पनि यसको प्रभावबाट अछुतो रहन सक्ने छैनन् ।
विन्डोज अपडेड नभएपछि कम्प्युटरमा
ह्याकिङ, भाइरस तथा अरु हमलाबाट बचाउने नयाँ अपडेड नआउँदा विन्डोज एक्सपीमा
अबका दिनमा कुनै नयाँ फिचर र सुविधा पनि उपभोग गर्न पाइने छैन । अगामी
दिनमा माइक्रोसफ्टले नै बनाएका नयाँ सफ्टवेयर वा अरु कुनै नयाँ सफ्टवेयर
कम्प्युटरमा नचल्न सक्छ भने नयाँ बन्ने हार्डवेयरका लागि पनि सपोर्ट विरलै
पाइने छ ।
सुरक्षित रहन के गर्ने त ??
अप्रिल ८ पछि माइक्रोसफ्टले कुनै पनि
सपोर्ट नदिंदा प्रयोगकर्तासँग २ वटा विकल्प रहनेछन् । या त धेरै पैसा तिरेर
कष्टम विन्डोज एक्सपी प्रयोग गर्ने वा नयाँ विन्डोज अपरेटिङ सिष्टम (ओएस)
लिने । दुरदर्शी रुपमा सोच्ने हो भने बढी लगानी गरेर विन्डोज एक्सपीको
कष्टम भर्जन प्रयोग गर्नुभन्दा नयाँ ओएस लिनु नै उपयुक्त हुने जानकारहरु
बताउँछन् ।
तत्कालका लागि विन्डोज एक्सपीलाई नै
निरन्तरता दिने हो भने सामान्य प्रयोगकर्ताले कम्प्युटरमा इन्टरनेटको
प्रयोग नगर्नु बेस हुन्छ । यसो गरेर कम्प्युटरबाट केही वर्ष काम चलाउन
सकिएपनि दिगो भने पक्कै हुने छैन । पेनड्राइभ वा अरु माध्यमबाट भाइरस पस्ने
खतरालाई यसले बचाउन कठिन हुन्छ । राम्रो एन्टिभाइरस, एन्टिस्पाइसवेयर
सफ्टवेयर वा फायरवाल्सको प्रयोग गरेर पनि कम्प्युटरलाई सुरक्षित राख्न
सकिन्छ ।
आफ्नो अपरेटिङ सिष्टम नबदलने हो भने
अप्रिल ८ पछि इन्टरनेट चलाउनका लागि इन्टरनेट एक्सप्लोरर वा मोजिला
फायरफक्स प्रयोग नगर्नु नै राम्रो हुन्छ किनकी विन्डोज एक्सपीको सपोर्ट
बन्दभएसँगै यिनीहरु पनि सुरक्षित रहने छैनन् । तर गुगल क्रोमले भने विन्डोज
एक्स पीलाई अझै पनि सपोर्ट गर्ने भएकाले अगामी १ वर्षका लागि यसबाट काम
चलाउन सकिन्छ । धेरैजसो एन्टिभाइरस सल्युसनको विन्डोज एक्सपीमा अझै पनि
सपोर्ट रहनेछ भने माइक्रोसफ्टको सिक्युरिटी इसेन्सियल्सले पनि सन् २०१५ को
जुलाई १४ तारिखसम्म सपोर्ट गर्नेछ ।
नयाँ अपरेटिङ सिष्टम अपग्रेड नभएपछि
ह्याकरलाई सुचना चोरी गर्न सबैभन्दा सजिलो जाभा ब्राउजर प्लग इनबाट हुने
भएकाले यसको आवश्यकता नभए हटाइदिनु नै बेश । यदि निकै जरुरी नै छ भने यसका
बारेमा अप टु डेट हुनुका साथै ब्राउजर प्लग इन राम्ररी डिसेबल्ड भएको छ कि
छैन भनेर ध्यान दिइरहनु जरुरी छ । यस्तै एडोब फ्लायस र एडोब रिडर पनि
ह्याकरको निशाना हुन सक्ने खतरा बढ्ने हुँदा आफूलाई चाहिने सफ्टवेयरलाई अप
टु डेट राख्नु आवश्यक छ । यदि नयाँ अपरेटिङ सिष्टम राख्ने हो भने विन्डोज
सेभेन वा एट लिनु उत्तम हुन्छ ।